कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ ।
सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।
राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन् ।
तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ ।
प्रपा र सत्ता गठबन्धन दलले विष्टलाई सर्वसम्मत सभामुख बनाउन चाहेका छन् । त्यसका लागि एमालेसँग छलफल गर्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजेको छ । तर गठबन्धन दल राप्रपाको विकल्प खोज्न तयार छैनन् ।
‘हामीले इन्टरनेशनल प्राक्टिस पनि हेर्यौं, अपोजिसनले सभामुख लिने प्राक्टिस भएका रहेछन्’, सिटौलाले भने,‘सभामुखलाई सर्वसम्मत बनाउने मनस्थितिमा छौं ।’ एमालेसँग पनि सल्लाह गरेर सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । सरकारमा जाने योजना भने नरहेको उनले बताए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले रगठबन्धनले राप्रपालाई सभामुखको प्रस्ताव गरेको हो ।