यस वर्ष सरदरभन्दा छिटो मनसुन भित्रिने सम्भावना देखिएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भारतको दक्षिण प्रान्त केरल आइसकेको छ।
मौसमविद् वरूण पौडेलले बुधबार केरलमा मनसुन भित्रिसकेको बताए। त्यहाँको मनसुन विभागले जुन ३१ मा मनसुन केरल आइपुग्ने प्रक्षेपण गरेकामा एक दिन अगाडि नै भित्रिएको थियो।मौसमविद् पौडेलले नेपालमा सात दिनभित्र मनसुनको प्रभाव देखिने बताए।
‘साधारणतया केरलमा जुन २८ मा मनसुन प्रणाली भित्रिने गर्थ्यो। बिहीबार अर्थात् मे ३० बाट केरलमा मनसुन प्रवेश गरेको छ। त्यसैको आधारमा नेपालमा सरदरभन्दा छिट्टै मनसुन भित्रिन्छ भनेर यकिन त गर्न सकिँदैन। तथापि सात दिनभित्र त्यसको प्रभाव देखिन सक्छ,’ उनले भने।
अर्का मौसमविद् मीनकुमार अर्यालका अनुसार भारतको मेघालय, त्रिपुरा, केरललगायत प्रान्तमा मनसुन भित्रिएको र उत्तर पश्चिम क्षेत्रतर्फ प्रभाव विस्तार गर्न थालेकोले नेपालमा पनि समयमै आइपुग्ने सम्भावना छ।
‘जुन–जुन समयमा जहाँ-जहाँ भित्रिन्थ्यो, ती ठाउँमाहरूमा मनसुन प्रवेश गरिसकेकाले नेपालमा पनि समयमै आउँछ कि भनेर अनुमान गर्न सकिन्छ। केरलमा आइपुगेको मनसुन नेपाल आइहाल्छ भन्ने होइन। पश्चिमी न्यून चापीय प्रणाली विस्थापित हुनुपर्छ। पूर्व हुँदै देशभर त्यसले प्रभाव विस्तार गरेपछि मात्रै नेपाल भित्रियो भन्ने अवस्था हुन्छ,’ अर्यालले भने।
साधारणतया नेपालमा जुन १३ मा मनसुन भित्रिने गर्छ। अघिल्लो वर्ष जुन १४ अर्थात् जेठ ३१ मा भित्रिएर असोज २८ गते बाहिरिएको थियो।