झापा। हल्दिबारी गाउँपालिकामा लोपोन्मुख मेचे समुदायका महिला दिदीबहिनिहरुलाई लक्षित गरेर पालिकास्तरिय ७ दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ।
कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक आयुषा मेचे को अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र,वडा नं १,२,४ का वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा,शुकलाल राजवंशी र सन्तकुमार, कार्यपालिका सदस्यहरू, शान्ता शिवाकोटी भगिरथा दाहाल, सुष्मा महरा,शान्ता गहतराज,वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, रचना कुलुङ, विष्णु राई, योजना शाखा प्रमुख राजन न्यौपाने, रोजगार संयोजक सपना न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले हल्दिबारीमा बसोबासको बाहुल्यता रहेको लोपोन्मुख मेचे समुदायका महिलाहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको र व्यक्तित्व विकासको तालिममा सहभागी दिदीबहिनीहरुलाई शुभकामना दिएका थिए।
विकास भनेको भौतिक मात्र नभई क्षमता अभिवृद्धि तथा आफ्नो कुराहरू निर्धक्क राख्न सक्नु पनि विकास भएकाले व्यक्तित्व विकास गरी समाजमा नेतृत्व लिन आग्रह गरेका थिए।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत वनले मेचे जाति आफ्नो छुट्टै पहिचान भएको भएपनि पछी परेकाले मेचेलाई नै लक्षित गरेर तालिम आयोजना गरिएको बताए।
कार्यक्रममा वडाध्यक्षहरु सन्तकुमार थापा, देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायतले शुभकामना राखेका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष आयुषा मेचेले मेचे महिलाहरु लक्षित यो तालिम पहिलो पटक आयोजना गरिएकोमा पालिकाप्रति खुसी व्यक्त गरेकी थिइन्।
मेचे महिलाहरुको क्षमता अभिवृद्धिको पहिलो सुरूवात उद्घोषण र माइन्युट लेखन भएको र तालिम पश्चात् विभिन्न योजनाहरू माग गरि अघि बढ्ने धारणा राखेकी थिइन्।
सहभागीहरुलाई सफलतापूर्वक तालिम लिएर आगामी दिनमा अझै अघि बढ्न आग्रह गर्दै आफू सधै साथमा रहेको धारणा राखेकी थिइन्।
महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले संचालन गरेको तालिममा सहजकर्ता संचारकर्मी देवीका अधिकारी रहेकी छिन्।
जेठ २५ गतेबाट सुरु भएको तालिम जेठ ३२ गते समापन हुनेछ।