नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार

278 views

नेपाल चिन सीमा व्यवस्थापन, व्यापार, सीमापार प्रसारण लाइन, रेलमार्ग, पारवहन तथा यातायात सन्धिलगायत एजेन्डा
काठमाडौँ —नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौंमा हुने भएको छ । आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नेछन् । उनी सोमबार नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुनले नेपालको तीनदिने भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

परराष्ट्रका एक अधिकारीका अनुसार नेपाली पक्षले बैठकका एजेन्डाहरू तयार पारिसकेको छ । चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल हुनेछ । व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे छलफल हुनेछ ।

नेपाल र चीनबीच राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूहबनाउने निर्णय भइसके पनि हालसम्म बैठक बस्न सकेको छैन । यस्तै, सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने भएको छ ।

नेपाल र चीनबीच रसुवागढी–केरुङ सीमापार २२० केभी प्रसारण लाइन निर्माणबारे सम्झौता भइसकेको छ तर काम अघि बढ्न सकेको छैन । सन् २०२३ को अप्रिलमा बेइजिङमा बसेको बैठकमा नेपाली पक्षले चिनियाँ पक्षलाई नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्न आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search