हल्दिबारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना सम्बन्धी अभिमुखीकरण

झापा। अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ।

हल्दिबारी गाउँपालिका, कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र करुणा फाउण्डेसन सबैबाट १८ लाखका दरले संयुक्त ५४ लाखको बजेट बिनियोजन गरि यो कार्यक्रम संचालन गर्न केही दिन अघि करूणा फाउण्डेसन र हल्दिबारी गाउँपालिका बिच सम्झौता भएको थियो।


सम्झौता पश्चात सरोकारवाला निकायहरुलाई कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण राखिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र ले प्रष्ट पारेका थिए।

जन्मजात र जन्मपछि हुने अपाङ्गता न्युनिकरण, अपाङ्गता भएकाको जिवनको गुणस्तरमा सुधार
अपाङ्गता भएका व्यक्तिहरुको पुन:स्थापना , सामाजिक , आर्थिक लगायतका विषयमा सहभागीता, अपाङ्गता भएका व्यक्तिहरुको हरेक क्षेत्रमा सशक्तिकरण र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरण लगायतका काम गर्ने करूणा फाउण्डेसनका कमल कोइरालाले जानकारी दिए।
हल्दिबारी गाउँपालिकामा मात्र ८ सय जना भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको पनि सबै जना सम्पर्कमा नरहेकाले उनीहरूलाई समेटेर काम गर्ने पनि जानकारी गराइएको थियो।

यो कार्यक्रमको मुख्य उद्देश्य गर्भबाटै अपाङ्गता रोकथाम गर्नु, अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य, शिक्षा पुर्नस्थापना सेवा प्रवाह गर्दै उनिहरुको घरघरमा गएर कार्यक्रमलाई प्रभावकारी बनाउने रहेको छ । यो कार्यक्रम ३ वर्ष सम्म संचालन हुनेछ ।
प्रत्येक घर घरमै पुगेर अपाङ्गता भएका व्यक्तिहरुको जानकारी लिने तथा सहायता सामाग्री, आर्थिक उपार्जन गर्न क्षमता अभिवृद्धि तालिम लगायत संचालन गरिनेछ भने महिला तथा बालबालिका शाखाले कार्यक्रमको समन्वय गर्नेछ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले वास्तविक अपाङ्गता भएका नागरिकहरुको छनौट गरी लक्षित वर्गमा पुगेर कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका थिए।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, करूणा फाउण्डेसनका पालिका संयोजक कृष्णकुमार राई लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू ,वडा सदस्यहरू, हल्दिबारीका विभिन्न विधालयका प्र अ हरू, स्वास्थ्यकर्मीहरू, शाखा प्रमुख , अपाङ्गता समितिका पदाधिकारीहरू लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण योजना एवं सामाजिक विकास अधिकृत राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search