झापा।विश्व हात्ती दिवस २०८१ को अवसरमा मानव हात्ती सह अस्तित्व सम्बन्धी अन्तरकृया कार्यक्रम कचनकवलका भिन्न भिन्न स्थानमा सम्पन्न भएको छ।
हात्ती दिवस २०८१ को अवसरमा कचनकवलको मोती मा वि विधालयमा मानव हात्ती सह अस्तित्व सम्बन्धी अन्तरकृयामा विधालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशी ,कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई , विधालयका प्र .अ छविलाल बस्नेत, फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा लिलानाथ शर्मा, डिभिजन वन कार्यालयका वन अधिकृत र्ऋषीराम पराजुली, राजु खडका, वन्यजन्तु संरक्षणकर्मी देवेन खरेल लगायत कचनकवलका जनप्रतिनिधिहरू, शिक्षक ,विधार्थी र सरोकारवालाहरूसँग छलफल एवं हात्ती सँग सम्बन्धित सामान्य ज्ञान कार्यक्रम संचालन गरिएको थियो। विधार्थीहरुलाई हात्ती बारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको प्र.अ बस्नेतले बताए।
यसैगरी स्थानिय महासंघ कचनकवलको आयोजनामा भएको कार्यक्रममा स्थानीय महासंघका अध्यक्ष चेतराज भट्टराई,अभिमुक्तेश्वर सामुदायिक वन समुहका अध्यक्ष राम खनाल,दुर्गाभिट्टा सामुदायिक वन समुहका अध्यक्ष धनराज गुरुङ, पूर्वदेउराली समुहका अध्यक्ष पदम राई लगायत वनका अभियान्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा हात्ती सँग सम्बन्धित विभिन्न विषय,मानव हात्ती द्वन्द्व र मानव हात्ती सह अस्तित्व सम्बन्धमा चुनौती र समाधानका उपायहरु बारे अन्तरकृया गरिएको थियो।
मानविय क्रियाकलाप र प्राकृतिक कारणले पछिल्लो समय हात्तीको संख्या दिनानुदिन घट्दै गइरहेको सार्वजनिक भएका तथ्याङ्कले देखाएको छ।
पछिल्लो शताब्दीमा मात्र संसारभरिमा अफ्रिकी हात्ती ९० प्रतिशत र एसियाली हात्ती ५० प्रतिशतले घटेको छ तसर्थ धर्तीको सबैभन्दा ठूलो जिवको अस्तित्व संकटमा परेको छ।
विश्वमा ३ प्रकारका हात्ती पाइन्छन भने नेपालमा पाइने एसियाली हात्तीको प्रजाति हो।
झापाका धेरैजसो स्थानीय निकायमा मानव हात्ती द्वन्द्व मुख्य चुनौति बनेको छ।
यहाँको वनजङ्गलमा मानविय प्रभाव बढ्दै जानु, वनमा मिचाहा प्रजाति बढ्दै गएपछि हात्तीको आहारा घटेर हात्ती गाउँ प्रवेश गर्ने गरेका छन्।
दिनानुदिन हुलमा आउने हात्तीले गरेको मानवीय एवं भौतिक क्षति डरलाग्दो रहेको छ ।
पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट नेपालभर ३०० जनाको मृत्यु भएको छ।
आ. व २०६८ पछि झापामा ६८ जना र जलथल वन क्षेत्रमा मात्रै २० जना मानिसको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।
यसैगरी आ. व २०६७/०६८ देखि आव २०८०/०८१ सम्ममा २१ वटा हात्तीको मृत्यु भएको छ जसमा ६ वटा जलथल क्षेत्रमा मरेका थिए।
यो अवधिमा हात्तीबाट विभिन्न प्रकारले पिडित बनेका ४ हजार ५ सय हात्तीपीडितलाई ९ करोड राहत वितरण गरिएको डिभिजन वन कार्यालयकी सुचना अधिकारी अञ्जना पुरीले जानकारी दिएकी छन।
वनमा पर्याप्त खाना नपाएपछि हात्ती गाउँ प्रवेश गर्ने गरेकाले
डिभिजन वन कार्यालय, फरेष्ट एक्सन नेपाल , महासंघ र सामुदायिक वन उपभोक्ता समुहहरूको संयुक्त प्रयासमा जलथलका सबैजसो वनमा पछिल्लो समय हात्ती आहाल बस्ने एवं पानी खाने पोखरी सरसफाई तथा निमार्ण,हात्तीलाई मनपर्ने फलफूल अम्बा,आप, औटेङगा,केरा ,बाँस तथा अन्य बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जंगलको हात्तीलाई जंगलमै रोक्न सके हात्तीको अस्तित्व बचाउन सकिने निश्चित छ।
धान, मकै लगायत बालीको समयमा हात्तीले बढी दुख दिने गरेकाले हात्तीले नखाने बाली परिवर्तन जस्तै (चिया ) लगायत गर्न सके यो समस्या केही कम गर्न सकिने डिभिजन वन कार्यालयका वन अधिकृत ऋर्षिराम पराजुलीले बताए।
झापामा विशेष गरी भारतबाट हात्ती आउने जाने गरेकाले अन्तरसिमा द्वन्द्व न्युनिकरण दुवै देशको समन्वय मात्रै सम्भव देखिन्छ।
अर्को तर्फ मानव–हात्ती द्वन्द्वका कारण हुने क्षतिको राहत वितरण अत्यन्तै झन्झटिलो र ढिलो हुने भएकाले तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ।अन्न र घरको सुरक्षा गर्ने हुँदा धेरैको ज्यान जोखिममा परेको छ राहत प्रकृया छिटो छरितो भए घटना केही कम हुन्थ्यो की?
यसैगरी हात्तीबाट बढि प्रभावित क्षेत्रका स्थानीयबासीको बाली र जिवनबिमा गर्न सके केही राहत मिल्थ्यो कि भन्ने अपेक्षा रहेको पाइन्छ।