झापा।नवजात शिशुमा हुन सक्ने जन्मदोष र बालबालिकाहरूमा हुन सक्ने अपाङ्गताको शीघ्र पहिचान तथा व्यवस्थापन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ।
हल्दिबारी गाउँपालिका अन्तगर्तका स्वास्थ्यकर्मीहरू लाई लक्षित गरेर गरिएको कार्यक्रममा जन्मजात अपाङ्गता अपाङ्गता कम गराउन जनचेतना तथा स्वास्थ्य सम्बन्धी जानकारी गराउन स्वास्थ्यकर्मीहरूको विशेष भूमिका रहने भएकाले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा हल्दिबारीका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडा बताएका थिए।
कार्यक्रममा नवजात शिशुमा जन्मजात हुन सक्ने अपाङ्गता (जन्मदोष )नहोस् भन्नका लागि एउटा उपाय आमाबुवाले नि गर्भाधान गर्नु अघि नि ३ महिना सम्म फोलिक एसिड सेवन गर्नुपर्ने र गर्भवती भएपछि पनि आमाले ३ महिना सम्म सेवन गर्नुपर्ने कार्यक्रमका प्रशिक्षक भद्रपुर नगरपालिकाका मेडिकल अधिकृत नविन उरावले जानकारी गराएका थिए।
बच्चाहरूमा हुन सक्ने अपाङ्गता जन्मजात ओठ,तालु फाट्ने,स्पाइना बाइफिडा (जन्मजात ढाडमा पोका पर्ने), पैताला मोडिने, बाल मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, अटिजम लगायतका संकेतहरुका बारेमा करूणा फाउन्डेसनका बिक्रम कोइरालाले प्रष्ट पारेका थिए।
यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान कसरी गर्ने , कसरी पुनर्स्थापना गर्ने, जिविकोपार्जनमा सहजता ल्याउन के के गर्न सकिन्छ, राज्यबाट उनीहरूले के कस्ता सेवा सुविधाहरू प्राप्त गर्न सक्छन्? अपाङ्गता परिचय कार्डका प्रकारहरू, कार्ड पाउने अवस्था लगायत विषयमा महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी गराएकी थिईन।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, कार्यपालिका सदस्य शान्ता शिवाकोटी लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।
सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश र करूणा फाउन्डेसनको सहकार्य रहेको कार्यक्रमको आयोजना हल्दिबारी गाउँपालिकाले गरेको थियो।