झापा। अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस हल्दिबारी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी अन्तरक्रिया गरी मनाइएको छ।
समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति जनचेतना फैलाउन र उनीहरूको सशक्तीकरणको मार्ग प्रशस्त गर्न यस दिवसलाई विशेष रूपमा मनाइएको हो।
हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने १ नं वडाका वडा अध्यक्ष देवीबहादुर थापा,कार्यपालिका सदस्यहरू शान्ता शिवाकोटी, भावना दाहाल लगायत अपाङ्गता सरोकार समितिका रामप्रसाद टुडु, जनजागृति माविकी प्रधानाध्यापक इन्दिरा चुडाल लगायतको आतिथ्यता रहेको थियो।
हल्दिबारी गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, परिचयपत्र वितरणका प्रकिया लगायतका विषयहरुमा प्रष्ट पारेका थिए भने र कचनकवल गाउँपालिकाका अपाङ्गता सहजकर्ता दिलकुमार राजवंशीले अपाङ्गता भएका व्यक्तिहरूले समाजमा भोग्नु परेका दुखहरु, के कसरी आफुलाई आत्मनिर्भर बनाउन सकिन्छ, सरकारले गर्नुपर्ने सहायता लगायतका विषयहरुमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले शारिरिक अपाङ्गता भएका व्यक्तिहरूका फरक फरक क्षमता हुने र त्यसको पहिचान तथा आवश्यक सहजीकरण सबैले गर्नुपर्ने बताएका थिए।
यसैगरी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली ले अपाङ्गता कुनैपनि प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई अप्ठ्यारो नमानी बाहिर आउन आग्रह गर्दै पालिकाले गर्ने सहयोग निरन्तर गर्ने बताएकी थिइन।
हल्दिबारी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले कुनैपनि अपाङ्गता भएका व्यक्तिहरू आफूले पाउने सेवासुविधा बाट बञ्चित हुनु नपरोस् भनी अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर मंसिर २० गतेबाट क्रमशः ५ वटै वडामा राखिएको जानकारी गराएकी थिईन भने कोही पनि नछुटन आग्रह गरेकी छन्।