नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता गरेका छन्।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा दुवैबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
आजै नेपाल आइपुगेका सहायक विदेशमन्त्री लूले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।
उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्ध मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ।