टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिनुस् : मधेशवादी दलसँग नाउपाको आग्रह

नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।

सोमवार सिंहदरबारमा मधेशवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए।

‘समान मुद्दा भएका राजनीतिक दलहरुको ८ दलको कार्यदलभित्र नागरिक उन्मुक्तिले हिजो टिकापुर घटना भइरहँदा टिकापुर घटनामा झुटा मुद्दा लगाइएका २८ जना जेलमा बस्यौँ हामी‚ ३० जना फरारको सूचीमा हुनुहुन्छ। अहिले पनि ५८ जनामाथि झुटा मुद्दा लगाइएको छ। ३ सय जनाको नाम र ठेगाना मिलेन भनेर अझै पनि त्यो मुद्दाको तामेलीमा छ‚ जुनसुकै बेला नाम ठेगाना प्रमाणित भए तिनीहरुमाथि पनि मुद्दा लाग्नसक्छ‚’ उनले भने, ‘यसमा ८ दलको कार्यदलको बैठकमा आफ्ना विषय राखेको हो। त्यो थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन, त्यो पनि उठाइदिनुस्, राख्दिनुस्। मोर्चाको नामका विषयमा पनि कुराकानी भयो।’

समान मुद्दा बोकेका राजनीतिक दलहरुको बैठक र एक आपसमा छलफल हुनु स्वाभाविक भएको उनले बताए। मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्नेबारे पनि छलफल गरेको जानकारी उनले दिए।

विगतमा भएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरुमा समेत छलफल भएको उनले बताए।

उनले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताए। भूमिसम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search