झापा । फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र सङ्घर्ष देखाउन खोजिएको उक्त ट्रेलर हेरेर थाहा पाउन सकिन्छ ।
उक्त ट्रेलरको काठमाडौँमा आयोजित ट्रे कार्यक्रममा एन्जिलासँगै अभिनेता दयाहाङ राई, कलाकार सुमिन गुरुङ, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चाम्सले यो चलचित्रमा अधिकांश राष्ट्रिय खेलाडीहरूले अभिनय गरेको जुन कुरा निकै गाह्रो भएको बताएता थिए। चाम्सले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको जनाउँदै अभिनेता दयाहाङ राईलाई दुई वर्ष पर्खेर फिल्म बनाएको बताएका थिए ।
उक्त फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।