काठमाडौं, चैत्र ३
– त्रिभुवन विश्वविद्यालयमा यही चैत्र ५ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्योलमा परेको छ। विभिन्न संगठनहरूबीचको विवादका कारण केन्द्रीय क्याम्पसमा अराजक अवस्था सिर्जना भएको भन्दैराष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन*(राप्रविसं) ले गम्भीर आपत्ति जनाउँदै निर्वाचन समितिलाई चेतावनी जारी गरेको छ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि
विद्यार्थीहरूले मतदान गरेर आफ्नो नेतृत्व चयन गर्ने लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हुनु आपत्तिजनक छ। विश्वविद्यालयले नै निर्धारण गरेको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया देशभरका क्याम्पसहरूमा अघि बढिरहेको भए पनि केन्द्रीय क्याम्पसमा असहज परिस्थिति देखिनु निर्वाचन समितिको कमजोर व्यवस्थापनको संकेत हो।
*परीक्षा तालिका परिमार्जन र अन्योलता बढ्दै*
विज्ञप्तिमा भौतिकशास्त्र दोस्रो सेमेस्टरको परीक्षा तालिका समेत परिमार्जन गरिएको उल्लेख गर्दै, पटक-पटक तालिका परिमार्जन गर्दा विद्यार्थीहरूको मानसिक अवस्था कमजोर बन्ने र शैक्षिक वातावरण बिग्रने चिन्ता व्यक्त गरिएको छ। संगठनले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा नबनाउन आग्रह गर्दै भन्यो,
“यदि पार्टीगत राजनीति गर्नुपर्ने नै हो भने निर्वाचन समितिलाई खारेज गरी नयाँ निष्पक्ष समिति गठन गरियोस्।”
*निर्वाचन प्रभावित भए आन्दोलनको चेतावनी*
राप्रविसंले तोकिएको मितिमा निर्वाचन सम्पन्न नहुँदा विद्यार्थीहरूमा नकारात्मक प्रभाव पर्ने भएकाले कुनै पनि हालतमा निर्वाचन प्रक्रिया अबरुद्ध गर्न नहुने माग गरेको छ। यदि निर्वाचन प्रभावित गराउने प्रयास गरिएमा *कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने* संगठनले चेतावनी दिएको छ।
हाल त्रिभुवन विश्वविद्यालय निर्वाचन समितिले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि, विद्यार्थी संगठनहरूबीच चर्किएको तनावका कारण त्रिवि केन्द्रीय क्याम्पसमा निर्वाचन प्रक्रिया सहज बनाउन प्रशासनलाई चुनौती थपिएको छ राप्रविसं का केन्द्रिय सदस्य यमन भुर्तेलले बताए।