झापा ।
झापाको विर्तामोड–१० स्थित गरामनी क्याम्पसमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) ले सभापतिसहित प्यानल नै विजयी हासिल गरेको छ।आज सम्पन्न निर्वाचनको मतगणना पश्चात सार्वजनिक नतिजाअनुसार राप्रविसंघका उम्मेदवारहरूले प्रमुख पदहरू सहित सम्पूर्ण पदहरूमा जित हासिल गरेका छन्।
जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाएका छन् ।
त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मतसहित निर्वाचित हुँदा अनेरास्ववियूकी सुनिता संग्रौलाले ६र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित भएका छन् । सोही पदमा उम्मेद्वारी दिएका अनेरास्ववियूकी अञ्जली मुर्मू ८ र नेविसंघकी खुश्बु खातुनले ९ मत पाएका छन् ।
कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की सो क्याम्पसको अध्यक्ष हुन् ।
नव-निर्वाचित सभापतिले विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक वातावरण सुधार्ने, क्याम्पसमा सुविधा विस्तार गर्ने र विद्यार्थीहरूको हक अधिकार सुनिश्चित गर्ने बताएका छन ।
यस जितलाई लिएर समर्थकहरूमा उत्साह देखिएको राप्रविसं केन्द्रिय सदस्य यमन भुर्तेलले जानकारी दिए ।