निशेधित क्षेत्र तोक्ने सरकारको निर्णयमा राप्रपाको आपत्ति

झापा। राप्रपाले सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने निर्णय गरेकोमा भर्तसना गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज २०८२ जेठ १८ गते जारी गरेको आदेशमा जेठ १९ गते देखि लागू हुने गरी २ महिनाको लागि बल्खु क्षेत्र, सिफल चौर र कोटेश्वरको आकाशे पुल देखि बालकुमारी क्षेत्रमा मात्र प्रदर्शन गर्न पाउने गरी चक्रपथभित्र र वरपरका सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको विषयमा राप्रपाको गम्भीर आपत्ति रहेको छ । लोकतान्त्रिक सरकारको दुई तिहाईको सरकारले इतिहासमा नै नयाँ कीर्तिमान राख्ने गरी काठमाडौं महानगर क्षेत्रलाई नै निषेधित क्षेत्र तोक्ने हास्यास्पद निर्णय गरेको छ। सरकारको यस निर्णय घोर अलोकतान्त्रिक, सर्वसत्तावादी, ग़ैर संवैधानिक र पराजित मानसिकताको उपज रहेको राप्रपाको ठहर छ। सरकारको यस निर्णयबाट शान्तिपूर्वक बिना हातहतियार भेला हुन पाउने, आफ्नो विचार राख्न पाउने र राजनैतिक दलले निर्वाध रूपमा राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको गम्भीर उल्लङ्घन गरेको छ। हामी सरकारको यस कदमको घोर विरोध गर्दछौं, सरकारको यस निर्णय नेपाली जनालाई किमार्थ स्विकार्य छैन। सरकारको उक्त आदेश तत्काल फिर्ता लिन आग्रह गर्दछौं। साथै, सरकारको लोकतन्त्र विरोधी यस निरंकुश कदमको विरुद्धमा उभिन र स्वतन्त्र सुपरिवेक्षण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, लोकतान्त्रिक अगुवा, बुद्धिजीवि, आम सञ्चारमाध्यम र आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search