झापा। हल्दिबारी गाउँपालिका वडा नं २ अन्तर्गत बाल संजालको आयोजनामा आयोजित आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता एक विशेष कार्यक्रमका बीच हल्दिबारी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष श्री शुकलाल राजवंशीले कार्यक्रमको ब्यानर वाचन गरी औपचारिक रूपमा उद्घाटन गरेका थिए। प्रतियोगितामा ९ वटा संस्थागत तथा १० वटा सामुदायिक विद्यालयका छात्रछात्राहरूले सक्रिय सहभागिता जनाएका थिए।
उद्घाटन समारोहमा वडाध्यक्ष राजवंशीसँगै वडा सदस्य अम्बिका तोलाङ्गी, हल्दिबारी माविका सहायक प्रधानाध्यापक रमेशचन्द्र पौडेल, सस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोरा लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा वडा सदस्य विष्णु राई, रचना कुलुङ राई, गणेश मगर, गरमकाली आधारभूत विद्यालयका प्रधानाध्यापक राम पराजुली तथा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
प्रतियोगितामा हल्दिबारी माध्यमिक विद्यालयका प्रवेश पाठक, यज्ञ राउत र कञ्चन घिमिरे प्रथम भएका थिए। कृष्ण सागर अङ्ग्रेजी विद्यालयका लक्ष्मी कर्मकार, युवराज सुवेदी र रिदम घिमिरे दोस्रो स्थानमा तथा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयका पंकज पौडेल, योगेश गिरी र उपसना सुवेदी तेस्रो स्थानमा विजयी भएका छन्।
विजेता टोलीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। जसअनुसार प्रथम हुने टोलीले रु ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले रु १ हजार ५ सय प्राप्त गरेका थिए।
कार्यक्रम बाल संजाल वडा नं २ का अध्यक्ष युबराज गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पुष्पा दङ्गालले गरेकी थिइन। कार्यक्रमको सञ्चालन तथा सहजीकरण शिक्षक तुलसी कोइरालाले गरेका थिए।
यसैबीच, हल्दीबारी गाउँपालिका बाल संजालले आगामी २०८३ सालको चैत महिनासम्म बालमैत्री गाउँपालिका निर्माण गर्ने लक्ष्यसहित विभिन्न बाल अधिकारसम्बन्धी कार्यक्रमहरूमा जोड दिइरहेको छ।
सोही उद्देश्यअनुसार बाल क्लबहरू पनि विद्यालय तथा वडास्तरीय कार्यक्रमहरू सञ्चालन गर्दै बाल सहभागिता अभिवृद्धिमा सक्रिय भइरहेका छन्।