नेपालको इतिहासमा पहिलोपटक कुनै ठुलो राजनीतिक दलले मात्र बोल्ने होइन, भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध दृढ कदम चालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचार विरुद्धको प्रदर्शन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) मा औपचारिक रूपमा ज्ञापनपत्र बुझाइएको छ।
ज्ञापनपत्रमा हाल नेपालमा मौलाउँदै गएको भयावह भ्रष्टाचार, राज्यकोष लुट, ठूला काण्डहरू — सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टिन-छाप, ओम्नी, एनसेल लगायतका घटनामा गम्भीर छानबिनको माग गरिएको छ। साथै, निजी, राजनीतिक, र प्रशासनिक पहुँचका भरमा सजिलै उन्मुक्ति पाइरहेका भ्रष्टाचारका संरक्षकहरूको पर्दाफास हुनुपर्ने उल्लेख गरिएको छ।
अध्यक्ष लिङ्देनको मान्यता, “भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने मान्यतामा पार्टी अडिग छ र यही मार्गदर्शनमा अगाडि बढिरहेको छ।”
ज्ञापनपत्रमा हालैका चर्चित घोटालाहरू — नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी जस्ता विषयलाई पनि समेटिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, मनिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद, खरबौं कृषि अनुदानलगायतका विषयहरूमा निष्पक्ष छानबिनको माग गरिएको छ।
राप्रपाको माग स्पष्ट छ — सबै राजनीतिक दलहरूमा बसेका व्यक्तिहरूको समेत निष्पक्ष अनुसन्धान होस्। “आवश्यक परे आफ्नै पार्टीको नेता कार्यकर्ताको समेत छानबिन होस्,” भन्ने सन्देश दिँदै राप्रपाले व्यापक अनुसन्धान र कार्यवाहीको मार्ग प्रशस्त गर्न आयोगलाई आग्रह गरेको छ।
यो अभियानले नेपालको राजनीतिक इतिहासमा भ्रष्टाचार विरुद्धको संघर्षलाई नयाँ दिशा दिएको छ।