हल्दीबारी, झापा — जेसीआई हल्दीबारीको आयोजनामा श्रावण १९ गते सोमबार “Speech Star Season 1” नामक अन्तर-विद्यालय बक्तृत्वकला प्रतियोगिता भव्य रूपमा आयोजना हुने भएको छ। कार्यक्रम हल्दीबारी गाउँपालिका अध्यक्ष तथा समाजसेवी श्री रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।



प्रतियोगितामा हल्दीबारी क्षेत्रका २० वटा विद्यालयहरूका विद्यार्थीहरूको सहभागिता रहनेछ। “Speech Star” को माध्यमबाट विद्यार्थीहरूमा सार्वजनिक रूपमा बोल्ने कला, आत्मविश्वास तथा विचार प्रस्तुत गर्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको नेतृत्व जेसीआई हल्दीबारीकी अध्यक्ष जेसी युनिता दवाडीले गरिरहनुभएको छ भने उपाध्यक्ष जेसी योगेश कार्की र सदस्य पवन गिरी संयोजकको भूमिकामा हुनुहुन्छ। अध्यक्ष दवाडीका अनुसार, “Speech Star Season 1 ले विद्यार्थीहरूलाई आफ्नो क्षमता उजागर गर्न प्रेरणा दिनेछ। साथै, नेतृत्व विकास र अभिव्यक्ति क्षमतामा निखार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”

हाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, निर्णायक मण्डलका सदस्यहरू तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।
जेसीआई हल्दीबारीले यो कार्यक्रमलाई दीर्घकालीन योजनाका साथ सिजन १ भनी सुरु गरेको र आगामी दिनहरूमा यस्ता अन्य सिर्जनात्मक तथा शिक्षामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।







