झापा । स्व. जगत बहादुर तथा नरमाया वन स्मृती प्रतिष्ठान हल्दीबारीले आयोजना गरेको तीन दिने फुटबल प्रतियोगिता आज (बुधवार) उद्घाटन भएको छ । झापाको हल्दीवारीका वन परिवारले आफ्ना मातापिताका नाममा स्थापना गरेको प्रतिष्ठानले दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको हुन् ।


प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, कार्यक्रमका बिशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, हल्दीबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले उद्घाटन संयुक्त गरेका हुन् ।

प्रतियोगिता हल्दीवारी माध्यमिक विद्यालयको खेल मैदानमा हुँदैछ । प्रतिष्ठानका संरक्षक डम्बर बनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत हल्दीबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले गरेका थिए भने प्रतियोगिताको उद्देश्य बारे प्रकाश प्रतिष्ठानका संस्थापक तथा हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) पारेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन हल्दीबारी माविका सहायक प्रधानाध्यापक तुलसी कोइरालाले गरेका थिए ।

प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानले आयोजना गरेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आज मंसीर १७, १८ र १९ गतेसम्म सञ्चालन हुने र पालिकाका ६ वटा टिमको सहभागीता रहने महेन्द्रले जानकारी दिए । उनले आफ्ना मातापिता फुटवल खेल निक्कै मन पराउने भएको बताउदै उहाँहरुको सम्झनामा गत बर्षदेखि प्रतियोगिताको शुरुवात गरेको जानकारी दिए ।

खेल फिफा नियम अनुसार हुने र खेल अवधिभर रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने उनले बताए । प्रतियोगितामा बिजेता टिमले नगद २५ हजार र उपबिजेता हुने टिमले नगद १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने प्रतिष्ठानका संस्थापक महेन्द्रले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत महेन्द्रका अनुसार प्रतियोगितामा बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट फर्वाड, बेस्ट कोच, हाई स्कोररलाई नगद एक हजार, बेस्ट प्लेयरलाई नगद दुई हजार र मेन अफ द म्याचलाई नगद एक हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटनकै अवसरमा सोहि दिन हल्दीवारी माविका पूर्व बिद्यार्थी समाज कक्षा–१० का ४७ ब्याचद्धारा निर्माण गरिएको विधालय खानेपानी योजनाको उद्घाटन समेत गरिएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा आयोजक वन परिवार, हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीवारी–५ का वडाध्यक्ष खड्गबहादुर लावती, हल्दीवारी–२ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिकाका कर्मचारी, सामाजिक संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतियोगिताको उद्घाटनको अवसरमा आज भएको पहिलो खेलमा हल्दीबारी–२ बी र हल्दीवारी–४ बिच भीडन्त भएको थियो । दुवै टिमबिच प्रतिस्पर्धा १/१ गोलमा बराबरी भएपछि टाइब्रेकरमा हल्दीवारी–४ का सुप्रिम मेचेले गोल गरेका थिए ।खेलको म्यान अफ द म्याज हल्दीवारी–४ का गोलकिप्पर प्रयास थापा मगर भएका थिए ।
आज भएको प्रतियागिताको दोस्रो खेलमा हल्दीवारी–३ र हल्दीवारी–१ बिच प्रतिस्पर्धा भएको थियो । हल्दीवारी–३ ले २–१ गोलले हल्दीबारी–१ लाई पछि पार्दै जित हासिल गरेको छ । वडा नं ३ का तर्फबाट किरण मेचे र बिक्रम पुरीले १/१ गोल गरेका थिए भने म्यान अफ द म्याच हल्दीवारी–३ का किरण मेचे घोषित भएका छन् ।

भोलि पहिलो खेल हल्दीवारी ३ र २ बिच र दोस्रो खेल हल्दीवारी–४ र ५ बिच हुने पालिकाका खेलकूद संयोजक सन्तकुमार थापाले जानकारी दिए ।








