झापा ।हल्दीबारीमा संचालित स्व. जगत बहादुर तथा नरमाया वन स्मृति दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता–२०८२ को उपाधि हल्दीवारी–५ ले हात पारेको छ । मंसिर १७ गतेदेखि जारी प्रतियोगितामा हल्दीवारी–५ ले हल्दीबारी–३ लाई ४–१ को अग्रतासँगै उपाधि हात पारेको हो ।


हल्दीबारीका ६ वटा टोलीको सहभागिता रहेको प्रतियोगितामा बिजेता टिम वडा नं–५ ले २५ हजार रुपैयाँ र उपबिजेता वडा नं–३ ले १५ हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ । जर्सी नं १२ का कप्तान आयुष थिङ्ग ‘म्यान अफ द म्याच’ चुनिन पुगे।

विभिन्न विधागत पुरस्कार विजेताहरूमा बेष्ट डिफेन्डर अमृत मेचे (वडा नं–३), बेष्ट मिडफिल्डर हिमाल लिम्बु (वडा नं–३, हाइ स्कोरर संजोग भुजेल (वडा नं–५), बेष्ट फरवर्ड विवेक लिम्बु (वडा नं–५), बेष्ट कोचस् समिर फागो (वडा नं–५), प्लेयर अफ द टुर्नामेन्ट हिमाल गुरुङ (वडा नं–५) गोलकिपर अफ द टुर्नामेन्ट समीर परियार (वडा नं–५) ले हात पारेका छन् ।

प्रतियोगिता हल्दीबारी माध्यमिक विद्यालयको खेलमैदानमा भएको थियो । समापन दिवसका आकर्षण मध्ये जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीचको मैत्रीपूर्ण खेलले दर्शकहरूको ध्यान खिच्यो। खेलमा जनप्रतिनिधि समूहले वडा नं–३ का अजित बिष्टको एक मात्र गोलका आधारमा १–० को जीत हात पारे।

कोशी प्रदेशका सांसद छवि चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, खेलकुदका प्रेमी तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन तथा समापन कार्यक्रममा प्रतिष्ठानका संस्थापक मानबहादुर वन (महेन्द्र) ले खेलकुदले युवालाई सकारात्मक मार्गदर्शन गर्ने र समुदायबीच सहकार्य तथा समन्वय वृद्धि हुने उल्लेख गरे। प्रमुख अतिथिले स्व. माता–पिताको सम्झनामा माल्यार्पण गर्दै प्रतियोगितालाई औपचारिकता दिएका थिए।
प्रतिष्ठानले स्थानीय समाजमा उल्लेखनीय योगदान पुर्याइरहेका शिक्षा–समाजसेवी नरेन्द्र कार्की, बालगायिका निर्देशिका अछामीलगायतलाई सम्मान प्रदान गरेको थियो। साथै वडा नं–५ ले प्रतिष्ठानका संस्थापक महेन्द्रलाई विशेष सम्मानसमेत अर्पण गरेको थियो। कार्यक्रम प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षता, प्रधानाध्यापक टंकबहादुर पाख्रिनको स्वागत र शिक्षक तुलसी कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।








