झापा।जिल्ला समन्वय समिति झापाले गरेको मूल्याङ्कनमा असल अभ्यास कार्यक्रम अन्तर्गत हल्दिबारी गाउँपालिका जिल्लाका गाउँपालिकामध्ये प्रथम भएको छ।
सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन लगायतका विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सीमित स्रोत साधनका बाबजुद पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा प्रभावकारी काम गरेको भन्दै हल्दिबारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बरालले जनप्रतिनिधि र कर्मचारीहरूको इमान्दारिता तथा समन्वयका कारण हल्दिबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताए। उनले सीमित स्रोतसाधन हुँदाहुँदै पनि देखिएको परिणाम प्रशंसनीय रहेको उल्लेख गरे।
यसैगरी, गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले प्राप्त सम्मानले खुशीसँगै थप जिम्मेवारी र चुनौती पनि थपिएको बताए। उनले यस उपलब्धिलाई जोगाएर राख्दै अझ प्रभावकारी सेवा प्रवाहमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल रहेका थिए भने विशेष अतिथि जिल्ला समन्वय अधिकारी अमृत बहादुर राई रहेका थिए। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।पालिकाको बारेमा छोटो प्रस्तुतीकरण योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत मान ब वन (महेन्द्र) ले गरेका थिए।