हल्दीबारी–भद्रपुर जोड्ने ‘लालीगुराँस झोलुङ्गे पुल’ उद्घाटन, ५०० घरपरिवार लाभान्वित

​झापाको हल्दीबारी गाउँपालिका र भद्रपुर नगरपालिकालाई जोड्ने लालीगुराँस झोलुङ्गे पुलको आज एक समारोहका बीच संयुक्त रूपमा उद्घाटन गरिएको छ।

Advertisement

हल्दीबारी–३ गैरीगाउँ र भद्रपुर–७ स्थित बुधकरण स्टेटलाई जोड्ने ११७.४० मिटर लम्बाइको उक्त पुलको भद्रपुर नगर प्रमुख गणेश पोखरेल र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। आर्थिक वर्ष २०७६/७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमान गरिए तापनि उपभोक्ता समिति र टेन्डर प्रक्रियामार्फत करिब ७५ लाख रुपैयाँको लागतमा यो पुल निर्माण सम्पन्न भएको हो। २०७९ सालमै निर्माण कार्य सकिए पनि प्राविधिक कारणले ढिलाइ भएको औपचारिक उद्घाटन आज जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थितिमा सम्पन्न भएको हो।
​पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरी बजेट विनियोजन र निर्माण प्रक्रिया अघि बढाउन हल्दीबारीका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले महत्त्वपूर्ण पहल गर्नुभएको थियो। कार्यक्रममा बोल्दै दुवै पालिकाका प्रमुखहरूले अधिकृत महेन्द्रको सक्रियता र समन्वयकारी भूमिकाको प्रशंसा गर्दै पुलले यस क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताए। पुल सञ्चालनमा आएसँगै हल्दीबारी र भद्रपुरका करिब ५०० घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। वर्षायाममा खोला तर्न सास्ती भोग्दै आएका स्थानीय बासिन्दाहरू पुल निर्माण भएपछि निकै हर्षित देखिएका छन्।
​हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भद्रपुर नगरपालिकाकी उप-प्रमुख राधा कार्की, हल्दीबारीकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत विभिन्न वडाका वडाध्यक्षहरू र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहमा पुल निर्माणमा योगदान पुर्‍याउने उपभोक्ता समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले पुल निर्माणको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने योजना शाखा प्रमुख राजन न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search