झापा, हल्दीबारी गाउँपालिकामा मेचे जातिको मौलिक पोशाक आरोनाई बनाउने तालिम उद्घाटन भएको छ। हल्दीबारी गाउँपालिका–४ स्थित हाज्रोङ्ग्रा बाली खुङ्ग्री शिवालय मन्दिरको सामुदायिक भवनमा आयोजित कार्यक्रममा मेचे समुदायका युवा युवतीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
मेचे समुदायका व्यक्तिहरूको सीप, ज्ञान तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।
मेचे युवा क्लबका अध्यक्ष सुरज मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्र, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा को विशेष आतिथ्यता रहेको थियो ।यसैगरी कार्यपालिका सदस्यहरू भगिरथा दाहाल, आयुषा मेचे , संचारकर्मी देवीका अधिकारी लगायत को आतिथ्यता रहेको थियो।
तालिममा कोशी प्रदेश सरकार र हल्दीबारी गाउँपालिकाले स्रोत व्यवस्थापन गरेको हो।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रमुख अतिथि लिङदेनले मेचे समुदायको सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी विशेष अतिथि वनले सीपमूलक तथा व्यवसायिक रूपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो। यसैगरि वडा अध्यक्ष थापाले समुदायलाई आत्मनिर्भर बनाउन यो तालिमले सहयोग पुग्ने धारणा राख्नुभएको थियो।
रेवीका मेचेले स्वागत गरेको कार्यक्रम दिपा मेचेले संचालन गर्नुभएको थियो।