झापा ।
पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दीबारी ४ को १८औँ वार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । समूहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा वन संरक्षणमा उल्लेख्य योगदान पुर्याउने ४ जनालाई सम्मान गरिएको थियो जसमा उत्कृष्ट महिला उपभोक्ता चन्द्रकला घिमिरे, उत्कृष्ट पुरुष उपभोक्ता नरेन्द्र कन्दङ्वा, उत्कृष्ट टोली प्रमुख युवराज ढकाल र उत्कृष्ट वन हेरालु यमनारायण तिवारी रहेका छन् । उहाँहरूलाई गाउँपालिका अध्यक्ष लिङ्देन लगायतका अतिथिहरूले कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथि लिङ्देनले वन समूहले अगाडि सारेका सकारात्मक नीति तथा कार्यक्रममा पालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विशेषगरी यस क्षेत्रको मुख्य समस्याका रूपमा रहेको हात्ती नियन्त्रण र फोहरमैला व्यवस्थापनलाई पालिकाले गम्भीरताका साथ हेरेको बताउँदै यसका लागि वन समूहहरूसँग सहकार्य गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।
सभामा अध्यक्ष सागर पोतेलले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार ७४०.६१ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन जैविक विविधतामा निकै धनि रहेको छ ।
६६८ घरधुरीका करिब ५ हजार ६७० उपभोक्ताहरू ३७ वटा टोलीमा आबद्ध भएर वन व्यवस्थापनमा सक्रिय छन् ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष मनिता अधिकारी गौतमले आर्थिक वर्ष २०८२/८३ का लागि ८१ लाख ८६ हजार ९९२ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभयो । उक्त बजेटमध्ये वन संरक्षण र विकासमा ३९ लाख ६२ हजार, गरिबी न्यूनीकरण तथा महिला सशक्तीकरणमा १७ लाख २५ हजार र सामाजिक विकास एवं पूर्वाधार निर्माणमा ५ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्चका लागि १९ लाख ६४ हजार २१२ रुपैयाँ प्रस्ताव गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशकी कोषाध्यक्ष गीता देवी भण्डारी, जलथल सबडिभिजन वन कार्यालयका प्रमुख स्वस्ती नन्दन सुवेदी र स्थानीय महासङ्घ अध्यक्ष चिरञ्जीवी पौडेल लगायतले वन सुरक्षा, चोरी निकासी नियन्त्रण र जडीबुटी संरक्षणका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
समितिकी उपाध्यक्ष शर्मिला लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शालिग्राम पराजुलीले गर्नुभएको थियो भने सहसचिव भरत ढकालले साधारण सभाको निर्णय प्रस्ताव र भगिरथ खरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू र समुहका उपभोक्ताहरूको उपस्थिति रहेको थियो ।