झापा, हल्दीबारी ।
हल्दीबारी गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न सहायक सामाग्री वितरण गरेको छ । करूणा फाउन्डेशन, हल्दीबारी गाउँपालिका तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत सहायक सामाग्री वितरण गरिएको हो ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूको दैनिक जीवन सहज बनाउन सामाग्री वितरण गरिएको जनाएको छ । कार्यक्रममार्फत ७१ जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा विभिन्न प्रकारका सहायक सामाग्री उपलब्ध गराइएको महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार लाभग्राहीहरूलाई व्हिलचेयर, सिपी व्हिलचेयर, छडी, श्रवणयन्त्र, उभिने फ्रेम, शौचालय कुर्सी, वाकर, डाइपर, प्याड तथा फ्रस्टेड लगायतका सहायक सामाग्री वितरण गरिएको हो । यस्ता सामाग्रीले अपाङ्गता भएका व्यक्तिहरूको हिँडडुल, दैनिक कार्य सम्पादन तथा स्वास्थ्य सुरक्षामा सहजता ल्याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन, वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, विभिन्न शाखाका शाखा प्रमुखहरू, अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वा, लाभग्राही तथा अपाङ्गता भएका व्यक्तिका परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार स्थानीय सरकारको महत्वपूर्ण दायित्व रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा तथा पुनःस्थापना जस्ता क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो । अध्यक्ष लिङ्देनले सहायक सामाग्रीले अपाङ्गता भएका व्यक्तिहरूको आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा सहभागी गराउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न नीति तथा कार्यक्रममार्फत विभिन्न योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले परिवार र समाजले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सकारात्मक व्यवहार गर्दै उनीहरूको क्षमता विकासमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले सहायक सामाग्रीको सही प्रयोगले लाभग्राहीहरूको दैनिक जीवनमा ठूलो सहजता आउने बताउनुभयो । उहाँले वितरण गरिएका सामाग्रीको संरक्षण तथा सदुपयोग गर्न आग्रह गर्दै स्थानीय तहले नागरिकको आवश्यकता अनुसार सेवा प्रवाहलाई प्राथमिकता दिइरहेको उल्लेख गर्नुभयो ।
वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मसम्मानका साथ जीवनयापन गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार नागरिकका समस्याप्रति संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका परिवारका सदस्यहरूले गाउँपालिकाबाट प्राप्त सहयोगप्रति खुशी व्यक्त गरेका थिए । उनीहरूले सहायक सामाग्रीले दैनिक जीवन सहज बन्ने र हिँडडुल तथा अन्य कार्य गर्न सहज हुने बताएका थिए ।
हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । गाउँपालिकाले आगामी दिनमा समेत अपाङ्गता भएका व्यक्तिहरू लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै उनीहरूको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।