झापा।हल्दीबारी गाउँपालिकाले आज वडा नम्बर ४ र ५ मा पर्ने अधिकारीचोक बजारमा आकस्मिक रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा बिना इजाजत अवैध रूपमा सञ्चालन हुँदै आएको एक औषधी पसललाई सिल गरिएको छ भने अन्य १७ वटा पसललाई कागजात पूर्ण गर्न लगाइएको छ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको संयोजकत्वमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उधोग कार्यालय , विभिन्न शाखाकाहरूका कर्मचारी प्रतिनिधिहरू सहित को टोलीले बजारका कुल २० वटा पसलहरूको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा अधिकारीचोक स्थित वडा नं. ५ मा मोहमद नसिम आलमले सञ्चालन गरेको औषधी पसलमा सञ्चालन तथा उपचार गर्ने कुनै पनि आधिकारिक शैक्षिक र कानुनी प्रमाणपत्र नभएका कारण शिल गरिएको हो भने सञ्चालकलाई आगामी ११ गतेभित्र आवश्यक कागजपत्रसहित गाउँपालिकामा हाजिर हुन घटनास्थलमै निर्देशन दिइएको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताउनुभयो।
अनुगमनका टोली पुग्दा बन्द रहेका पसलहरूमा टोलीले उपस्थितिका लागि कार्यालयको आधिकारिक सूचना टाँस गरेको छ। यस्तै, कैफियत भेटिएका अन्य १७ वटा पसलहरूलाई यही ११ गतेभित्र आ-आफ्नो वडा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत मान ब वन महेन्द्रले बताउनुभयो।
अनुगमन टोलीले मुख्य गरी व्यवसायीहरूमा कानुनी सचेतना जगाउने उद्देश्य राखेको छ। सो क्रममा पसलहरूको दर्ता प्रमाणपत्र, व्यवसाय नवीकरण, सामानहरूको मूल्य सूची, उपभोग्य मिति र गुणस्तरको विस्तृत चेकजाँच गरिएको थियो। टोलीले व्यवसायीहरूलाई उपभोक्ताको अधिकारको सम्मान गर्दै सुरक्षित र मर्यादित व्यवसाय गर्न अनुरोध समेत गरेको छ।
गाउँपालिकाले हल्दीबारी क्षेत्रका अन्य बजारहरूमा पनि क्रमशः अनुगमनलाई निरन्तरता दिने जनाएको छ। पालिकाको निर्देशन र कानुनी प्रक्रिया पालना नगर्ने पसलहरूलाई कानुनी कारबाही गरिने समेत पालिकाले जनाएको छ।