झापा, हल्दीबारी ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हल्दीबारी गाउँ कार्य समितिले पार्टीको ३६औँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। हल्दीबारीमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम गाउँ समिति अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने राप्रपाका संस्थापक अध्यक्ष ओमकृष्ण सेलवाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसहित विभिन्न तहका जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै पार्टीको इतिहास, वर्तमान राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे धारणा राख्नुभएको थियो। यसैगरी राप्रपाले स्थापनाकालदेखि राष्ट्रियता, प्रजातन्त्र र हिन्दुराष्ट्रको पक्षमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रदेश समिति सदस्य टिका राउत, क्षेत्रीय उपाध्यक्ष तुलशा आचार्य, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,महिला संगठन हल्दीबारी अध्यक्ष शान्ता शिवाकोटी, लगायतले मन्तव्य राख्दै संगठन विस्तार, युवापुस्ताको सहभागिता र पार्टीप्रतिको जनविश्वास अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए। कार्यक्रमको स्वागत मन्तव्य पवन चम्लागाईंले गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय उपाध्यक्ष खिवराज भट्टराईले गर्नुभएको थियो।
कार्यक्रममा पार्टी स्थापना कालको संघर्ष, अग्रज नेताहरूको योगदान तथा राप्रपाको राजनीतिक यात्राबारे प्रमुख अतिथि सेलवालले चर्चा गर्नुभएको थियो। विशेष रूपमा पार्टी स्थापना गर्ने अग्रज नेता केशवराज कन्दङवाको तस्वीरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा सहभागी नेताहरूले अग्रजहरूको योगदानलाई स्मरण गर्दै पार्टीको सिद्धान्त र विचारलाई जनतामाझ थप प्रभावकारी रूपमा पुर्याउनुपर्ने बताएका थिए।
स्थापना दिवसको अवसरमा नेता तथा कार्यकर्ताबीच आपसी एकता, संगठन सुदृढीकरण र आगामी दिनमा जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागीहरूले राप्रपाको ३६ वर्षे राजनीतिक यात्राले देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै पार्टीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए।