सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ३१औँ स्थापना दिवसमा अन्तरक्रिया तथा वृक्षारोपण

हल्दीबारी, झापा। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ३१औँ स्थापना दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ झापाले अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

हल्दीबारी गाउँपालिका वडा नं. ४ स्थित पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजित कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, वन उपभोक्ताको अधिकार तथा वातावरण संरक्षणका विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रम पश्चात सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपण समेत गरिएको थियो।

जिल्ला महासङ्घ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश महासङ्घकी कोषाध्यक्ष गीता भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। प्रमुख अतिथि भण्डारीले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै वन क्षेत्रको दिगो व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहेको धारणा राख्नुभयो।

कार्यक्रममा कोशी प्रदेश महासङ्घका न्यायिक समिति संयोजक घनश्याम खनाल, कचनकवल स्थानीय महासङ्घका अध्यक्ष चेतराज भट्टराई, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सामुदायिक वन अभियानलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताउनुभएको थियो।
यसैगरी सामुदायिक वनका हरेक अप्ठयारोमा महासंघ उभिने बताउदैँ जिल्ला महासंघ अध्यक्ष भण्डारीले सबैमा शुभकामना व्यक्त गर्नुभएको थियो।
सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष चन्द्र तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सामुदायिक वनको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय अगुवा, वनकर्मी तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला महासङ्घ झापाकी कोषाध्यक्ष देवीका अधिकारीले गर्नुभएको थियो।

स्थापना दिवसको अवसरमा सम्पन्न अन्तरक्रिया र वृक्षारोपण कार्यक्रमले सामुदायिक वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै हरियाली प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search