हल्दीबारीमा संकल्प परियोजना अभिमुखीकरण कार्यक्रम सम्पन्न, उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा जोड

झापा।हल्दीबारी गाउँपालिकामा साहारा नेपालको आयोजनामा “संकल्प परियोजना” सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। उपेक्षित उष्ण प्रदेशीय रोग (Neglected Tropical Diseases – NTDs) तथा त्यसको उच्च जोखिम रहेका क्षेत्रहरूको प्रारम्भिक पहिचान, रोकथाम, नियन्त्रण तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमबारे जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच विस्तृत छलफल गरिएको थियो।

Advertisement

गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नम्बर ४ का वडा अध्यक्ष सन्तकुमार थापा लगायत विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा हाल रहेका ११ वटा हात्तीपाइले ,कुष्ठरोग लगायत उपेक्षित उष्ण प्रदेशीय रोगहरूको अवस्था, तिनको प्रभाव, जोखिम तथा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीतिबारे जानकारी गराइएको थियो। नेपाल सरकारले सन् २०३० सम्ममा यि रोगहरूलाई उन्मूलन गर्ने लक्ष्य लिएको र परियोजनाले पनि यि रोगहरूको पहिचान तथा न्युनिकरणका लागि काम गर्ने अवगत गराइएको थियो।

संकल्प परियोजनाका कार्यक्रम संयोजक प्रसन्न कार्की तथा फोकल पर्सन पवन चाम्लिङले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले उपेक्षित उष्ण प्रदेशीय रोगहरूबारे समुदायमा अझै पर्याप्त जनचेतना अभाव रहेको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायबीचको समन्वयबाट मात्र यस्ता रोगहरूको प्रभावकारी नियन्त्रण सम्भव हुने बताए।

छलफलका क्रममा रोगको जोखिममा रहेका समुदाय तथा क्षेत्रहरूको पहिचान, जनचेतना अभिवृद्धि, समयमै परीक्षण तथा उपचार सेवा पहुँच विस्तार, सरसफाइ तथा स्वास्थ्य व्यवहार सुधारका विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यक्रमले स्थानीय तहलाई योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिने बताए।

कार्यक्रमले उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रण तथा उन्मूलनका लागि स्थानीय तह, स्वास्थ्यकर्मी र सरोकारवालाहरूबीच साझा बुझाइ विकास गर्नुका साथै आगामी कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशन प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search