भद्रपुर वडा नं ३ मा ७ दिवसिय उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न

झापा। भद्रपुर नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालन भएको ७ दिने क्षमता अभिवृद्धिमूलक उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ।

टोल विकास संस्था ,न्यायिक समितिका पदाधिकारीहरू र सरोकारवालाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको समापन समारोह आज सम्पन्न भएको हो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक कार्यक्रम सञ्चालनका विधि, आत्मविश्वास विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा माइन्युट लेखनका सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।

तालिमको सहजीकरण सञ्चारकर्मी देवीका अधिकारीले गर्नुभएको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूलाई व्यवहारिक अभ्यासमा विशेष जोड दिइएको थियो। सहभागीहरूले आफैं कार्यक्रम सञ्चालन गर्ने, मन्तव्य प्रस्तुत गर्ने तथा माइन्युट तयार गर्ने अभ्यास गरेका थिए।

वडा सदस्य एवं कार्यक्रम संयोजक रिना थापा मगरको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा अध्यक्ष हेमबहादुर कार्की प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा सदस्यहरू पूर्णमाया लिम्बु, शोभा ठटाल तथा वडा सचिव खेलीकुमार राई लगायतको आतिथ्यता रहेको थियो।

समापन समारोहको सञ्चालन तालिमकी प्रशिक्षार्थी सरिता मुर्मुले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवहरू बाँडदै तालिम अत्यन्त उपयोगी, व्यवहारिक र समयसापेक्ष रहेको बताएका थिए। सहभागीहरूले आगामी दिनमा यस्ता तालिमहरूलाई थप समयावधि सहित सञ्चालन गर्नुपर्ने सुझावसमेत दिएका थिए।

प्रमुख अतिथि कार्कीले समुदायस्तरमा नेतृत्व विकास, प्रभावकारी सञ्चार तथा अभिलेखीकरण प्रणालीलाई सुदृढ बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो।उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

समापन समारोहमा बोल्दै सभाध्यक्ष मगरले तालिम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक, सहभागी तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले वडा कार्यालयले आगामी दिनमा पनि नागरिकको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भएको थियो।

सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। तालिमले स्थानीय तहका विभिन्न समितिका पदाधिकारीहरूको सार्वजनिक बोलाइ, कार्यक्रम सञ्चालन तथा अभिलेख व्यवस्थापन क्षमतामा सकारात्मक सुधार ल्याएको विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search