हल्दीबारी बजारमा डेङ्गी सचेतना तथा लार्भा खोजी तथा नष्ट अभियान सम्पन्न

झापा ।हल्दीबारी गाउँपालिका–२ स्थित हल्दीबारी बजार क्षेत्रमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमसँगै लार्भा खोजी तथा नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ।

वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशीको नेतृत्वमा सञ्चालन गरिएको कार्यक्रममा हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौला, स्वास्थ्य चौकी हल्दीबारीका स्वास्थ्यकर्मीहरू, योजना शाखा प्रमुख राजन न्यौपाने, महिला स्वास्थ्य स्वयंसेविकाहरू, हल्दीबारी प्रहरी चौकीका प्रहरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा हल्दीबारीका सभापति कर्णाखर प्रसाई तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।

अभियानका क्रममा बजार क्षेत्रका घर, पसल तथा सार्वजनिक स्थानमा पानी जम्न सक्ने भाँडा, टायर, गमला, ड्रम, कुलरलगायतका स्थानहरूको निरीक्षण गरी डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गरिएको थियो। साथै डेङ्गी रोगबाट बच्न घर तथा वरपरको वातावरण सफा राख्ने, पानी जम्न नदिने र व्यक्तिगत सावधानी अपनाउन स्थानीयलाई आग्रह गरिएको थियो।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले डेङ्गी नियन्त्रणका लागि समुदायको सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको बताउँदै प्रत्येक घरपरिवारले नियमित रूपमा आफ्नो घर वरपरको वातावरण निरीक्षण गरी लामखुट्टे हुर्किन सक्ने स्थानहरू हटाउनुपर्नेमा जोड दिए।

वडा अध्यक्ष शुकलाल राजवंशीले डेङ्गी नियन्त्रण सरकारी निकायको मात्र जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता जनचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा सहभागी सबै सरोकारवाला निकाय र स्थानीयवासीले डेङ्गी नियन्त्रणका लागि सामूहिक प्रयासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search