न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जलथल स्वास्थ्य चौकी हल्दीबारीमा प्रथम, झापामा दोस्रो

झापा।न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा जलथल स्वास्थ्य चौकी हल्दीबारीमा प्रथम, झापामा दोस्रो

न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा गर्दै हल्दीबारी गाउँपालिका अन्तर्गत रहेका तीन वटा स्वास्थ्य चौकीमध्ये जलथल स्वास्थ्य चौकी प्रथम बनेको छ । जिल्लाभरका स्वास्थ्य संस्थाहरूको मूल्याङ्कनमा समेत उत्कृष्ट नतिजा हासिल गर्दै जलथल स्वास्थ्य चौकी झापा जिल्लामै दोस्रो स्थान हासिल गर्न सफल भएको हो ।

स्वास्थ्य सेवा प्रवाह, व्यवस्थापन, सरसफाइ, सेवाको पहुँच, स्वास्थ्यकर्मीको कार्यसम्पादन, आवश्यक पूर्वाधार तथा स्वास्थ्य संस्थाको समग्र सेवा अवस्थालगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा जलथल स्वास्थ्य चौकीले ९१ अंक सहित उल्लेखनीय उपलब्धि हासिल गरेको जनाइएको छ ।

उक्त उपलब्धिको अवसरमा जलथल स्वास्थ्य चौकी परिसरमा आयोजित सम्मान कार्यक्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र ले वडा नम्बर ४ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार थापालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो  ।

कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समेत सम्मान गरिएको थियो । स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मीहरूले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वनले जलथल स्वास्थ्य चौकीले हासिल गरेको सफलता हल्दीबारी गाउँपालिकाकै गौरवको विषय भएको बताउनुभयो । सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्यकर्मी, व्यवस्थापन समिति तथा स्थानीय जनप्रतिनिधिको समन्वय र प्रतिबद्धताका कारण उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको उहाँको भनाइ थियो ।

उहाँले स्वास्थ्य चौकीले प्राप्त गरेको उपलब्धिलाई निरन्तर कायम राख्दै आगामी दिनमा सेवाको गुणस्तर थप सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्दै जाने बताउनुभयो ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार थापाले स्वास्थ्य चौकीले हासिल गरेको उपलब्धि सामूहिक प्रयासको परिणाम भएको बताउनुभएको थियो। स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत, व्यवस्थापन समितिको सक्रियता तथा स्थानीय नागरिकको सहयोगका कारण स्वास्थ्य चौकीले गाउँपालिकामा प्रथम र जिल्लामा दोस्रो स्थान हासिल गर्न सफल भएको उहाँको भनाइ थियो ।

अध्यक्ष थापाले प्राप्त उपलब्धिले थप जिम्मेवारी र चुनौतीसमेत बढाएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त   जनाउनुभएको थियो । स्वास्थ्य चौकीमा आवश्यक सेवा, उपकरण तथा पूर्वाधारको व्यवस्थापनका लागि निरन्तर पहल गरिने उहाँले बताउनुभएको थियो ।

जलथल स्वास्थ्य चौकीले प्राप्त गरेको यो उपलब्धिले स्वास्थ्य संस्थाप्रति स्थानीय नागरिकको विश्वास बढ्नुका साथै हल्दीबारी गाउँपालिकाको स्वास्थ्य सेवा सुधार अभियानमा थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search