हल्दीबारी गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गत आर्थिक वर्षभरि सञ्चालन भएका आधारभूत स्वास्थ्य सेवा, सुरक्षित मातृत्व, खोप, पोषण, परिवार नियोजन, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य प्रवर्द्धन तथा अन्य स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती र सुधार गर्नुपर्ने पक्षबारे विस्तृत समीक्षा गरिएको थियो। साथै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य तथा नागरिकमैत्री बनाउने उद्देश्यका साथ प्राथमिकता निर्धारण गर्दै योजना तर्जुमा गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
समीक्षा कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवाप्रति समर्पण र जिम्मेवारीका साथ उल्लेखनीय योगदान पुर्याएका स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको सम्मानले अन्य स्वास्थ्यकर्मीलाई समेत थप जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले स्वास्थ्य क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको गुणस्तरमा कुनै सम्झौता हुन नसक्ने बताउनुभयो। उहाँले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति र पूर्वाधारलाई थप सुदृढ बनाउँदै गाउँपालिकावासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। विगतका अनुभव र सिकाइका आधारमा आगामी वर्षका कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्न समीक्षा कार्यक्रम उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले वार्षिक समीक्षा कार्यक्रमले स्वास्थ्य सेवाको वास्तविक अवस्था मूल्याङ्कन गर्न, समस्या पहिचान गरी समाधानका उपाय तय गर्न तथा आगामी योजना नतिजामुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको सम्मानले स्वस्थ प्रतिस्पर्धा र सेवा सुधारको संस्कृतिलाई थप मजबुत बनाउने उल्लेख गर्दै सबै स्वास्थ्यकर्मीलाई सेवाग्राहीमैत्री, जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधिहरूले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका लक्ष्य, रणनीति तथा प्राथमिकताबारे जानकारी गराएका थिए। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सम्मानित स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि उत्कृष्ट सेवा प्रवाहमार्फत गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउन सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।