झापा । भोटेकोशी नदी तथा त्यसको तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हल्दीबारी गाउँपालिकाले २५ लाख ९१ हजार ७५० रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले जारी गरेको विवरणअनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष एवं कार्यपालिका तथा वडा सदस्यहरूबाट ८७ हजार ७ सय ३२ रुपैयाँ बराबरको ७ दिनको सेवा–सुविधा/पारिश्रमिक कट्टा गरी सहयोग गर्ने जनाइएको छ।
यसैगरी गाउँपालिकामातहतका कर्मचारीहरूबाट
७ लाख अन्ठानब्बे हजार २ सय ४८ रूपैयाँ ,
गाउँपालिकामातहतका सामुदायिक विद्यालयका शिक्षकहरूबाट १५ लाख ५ हजार ७ सय ७० रुपैयाँ बराबरको रकम सहयोग गरिने भएको छ।
गाउँपालिकाले बाढीबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको राहत तथा पुनःस्थापनाको कार्यलाई थप टेवा पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।