झापा। मोरङ को विराटचोकमा आयोजित राप्रपा को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा आज सयौँको सङ्ख्यामा पार्टी प्रवेश गरेका छन्।
मोरङ क्षेत्र नं ३ ‘ख’ का नेपाली कांग्रेसका सभापति जगन्नाथ चौधरी सहित कांग्रेस, एमाले, माओवादी लगायतका दलका साथै स्वतन्त्र युवाहरु को ठूलो संख्यालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अविर माला ले सम्मान सहित पार्टी सदस्यता वितरण गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले भष्ट्राचार मुक्त मुलुक बनाउन राप्रपा को विकल्प नभएकोले देश विकासका लागि वैकल्पिक शक्ति राप्रपा भएको जिकिर गरेका थिए। फरक प्रसंगमा लिङदेनले ठूला पार्टीका नेताहरुको नाम भष्ट्राचारमा मुछिदा आफ्नो र पार्टीका नेताहरु अहिले पनि सम्पत्ति छानबिन होस् भनेर शिर ठाडो पारेर हिड्न सक्ने भएकाले अरु दल सँग राप्रपाको तुलना नहुने बताए।
यस्तै प्रमुख सचेतक तथा प्रवक्ता शाहीले युवा शक्ति एक भएर अघि बढ्नु पर्ने र त्यसमा राप्रपाले युवा र महिलाहरुका लागि प्रशस्त अवशर दिने भन्दै एकपटक राप्रपाको लहर ल्याउन सबै लागि पर्न अनुरोध गरेका थिए।
देशमै रोजगारी, शिक्षा र स्वास्थ्य सर्वसाधारणको पहुँचमा पुर्याउन एकपटक राप्रपाले सरकारको नेतृत्व गर्नुपर्ने भएकाले सबै एकजुट हुनुको विकल्प नरहेको औल्याएका थिए।
राप्रपाको हालै सार्वजनिक गरिएको नवीन राप्रपा कार्ययोजना अभियानको क्रममा विराटचोकमा आज आयोजित कार्यक्रमलाई अध्यक्ष लिङ्देन, महामन्त्री प्रह्लाद शाह, प्रवक्ता ज्ञानेन्द्र शाही, प्रशिक्षण विभाग उपप्रमुख खुश्ब ओली लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए।
पार्टी प्रवेश पश्चात बोल्दै चौधरीले कांग्रेस भित्र मौलाएको गुटबन्दी र भष्ट्राचार सहेर बस्न नसकेकोले राष्ट्रवादी पार्टी मा प्रवेश गरेको बताएका थिए।