झापा। हुलाकी राजमार्ग अन्तर्गत झापाचोक राजगढ सडक खण्डको हल्दिबारी वडा नं ३ देखि ५ सम्मको मुख्य कालोपत्रे सडकमा परेको खाल्डाखुल्डी पुर्ने र मर्मत गर्ने कार्य स्थानीय युवाको सक्रियता र प्रवासी नेपाली समाजको सहयोगमा सम्पन्न भएको छ ।
हल्दिबारी गाउँपालिका भित्र पर्ने सडक क्षेत्रको वडा नम्बर ३ को स्थानीय भुसुडि पुलदेखि वडा नम्बर ५ को भुतेनी पुलसम्मको भागमा सडक मर्मत गरिएको हो ।
स्थानीय युवा नीरप्रसाद अधिकारीको अगुवाईमा स्थानीय युवाहरूले गरेको जनश्रमदानमा हल्दिबारी ५ नम्बर वडा कार्यालयबाट १५ बोरा सिमेन्ट , स्थानीय मदन तामाङबाट १ ट्याक्टर मिक्स गिटी सामाग्री ढुवानी गर्न ४ नं वडा सदस्य सुनिल बाराकोटिले ट्याक्टर उपलब्ध गराएका थिए भने वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाले व्यक्तिगत रूपमा २५ सय सहयोग गरेको निरप्रसाद अधिकारीले बताए।
ठाउँ ठाउँमा सडकमा खाल्डाखुल्डी भएकाले हुन सक्ने दुर्घटनालाई कम गर्न , सडकलाई थप क्षति हुन नदिन सर्वसाधारणलाई समेत स–सना काम नागरिक स्तरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको अर्का युवा उदेश मोक्तानले बताए।