कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्।यसअघि सभामुखमा विजयी भएका माओवादीका बाबुराम गौतमले राजीनामा दिएपछि सभामुखको पद रिक्त थियो। साउन १६ मा तत्कालीन सभामुख गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो।
पाँच महिनादेखि रिक्त सभामुख पदमा चयन भएपछि विष्टले संविधानको परिधिभित्र रहेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्।कोशीको सभामुख बनेका विष्टको राजनीतिक जीवनको सुरुआत वामपन्थी दलबाट भएको थियो। उनी २०२८ सालतिर झापामा वाम राजनीतिमा सक्रिय थिए।
त्यसबेला वाम दल छोडेर पञ्चायत प्रवेश गरेका उनी २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए।२०३२ मा पञ्चायत प्रवेश गरेको एक वर्षभित्रै उनी वडाध्यक्ष भएका थिए।
वडाध्यक्ष भएपछिको अर्को वर्ष जुरोपानी (हाल गौरादह) को उपप्रधानपञ्च पनि भए। उपप्रधानपञ्च एक वर्ष बनेका विष्ट त्यसपछि झन्डै एक दशक जिल्ला पञ्चायतको सदस्य पनि भए।राप्रपा झापाको आठ वर्ष पार्टी अध्यक्ष रहेका थिए।