झापा। दादुरा रुबेला विरुद्ध को खोप अभियान २०८० संचालन सम्बन्धी १ दिने अभिमुखीकरण गोष्ठी हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ। सरकारले फाल्गुण १३ गतेदेखि चैत्र ७ गते सम्म यो अभियान संचालन गरिरहेको छ।
हल्दिबारी गाउँपालिकाले फाल्गुण २० गतेबाट दादुरा रुबेला खोप संचालन गर्न लागेको स्वास्थ्य जानकारी गराईएको थियो। ९ महिना देखि १५ वर्ष उमेर समुहका बालबालिकाहरूलाई यो खोप लगाइने र हल्दिबारीका सम्पूर्ण विधालयहरुमा खोप कार्यक्रम संचालन हुने पनि जानकारी गराईएको थियो।
विधालय नजाने उमेर समुहका बालबालिकाहरूलाई पनि नजिकैको विधालयमा लगेर खोप लगाउन सकिने तथा अन्तिम दिनमा स्वास्थ्य चौकीमा समेत खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली को अध्यक्षतामा भएको अन्तरक्रियामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी ,शिक्षक तथा सरोकारवाला हरूको सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मैनालीले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नपरोस् भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट प्रचारप्रसारमा सहभागी हुन आग्रह गरेकी थिइन्। कार्यक्रमको संचालन स्वास्थ्यकर्मी प्रकास खतिवडाले गरेका थिए। हल्दिबारी गाउँपालिकाले सबै स्वास्थ्य चौकी तथा वडा हरूमा खोप अभियान सम्बन्धी अभिमुखीकरण गोष्ठी गरिरहेको छ।