प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरूबीच शुक्रबार साँझ हुने भनिएको भेटघाटको तालिका सरेको छ। शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट तय भएको थियो।
तर, उक्त भेट शनिबार बिहानमात्रै हुने भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपालखबरलाई जानकारी दिए।
‘हाम्रो प्रधानमन्त्रीसँग भोलि (शनिबार) मात्रै भेट हुने भएको छ,’ लेखकले भने, ‘त्यसपछि मात्रै केही भन्न सकिएला।’
यसैबीच, प्रधानमन्त्री प्रचण्डले आजै बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका थिए।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिको टीओआर (कार्यादेश)मा सहमति नजनाउँदा बिहीबारको सहमति भाँडिएको थियो।
शुक्रबारको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दलका नेताहरूसँगको संवादपछि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ।