कानून बनाउनुको साटो सांसदले सरकारको मुख ताक्दा कानून बनेन : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सांसदहरूले कानून बनाउनुको सट्टा सरकारको मुख ताक्ने प्रवृत्तिका कारण कानून नबनेको बताएका छन्।

आइतवार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।

उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउनुपर्ने माग गरे।

१८ वर्षदेखि एउटै कानूनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्।

सभामुख घिमिरेले भने‚ ‘हाम्रो कानून हामीले बनाउनुपर्छ भन्ने होइन, सरकारले कानून कहिले ल्याइदिन्छ भनेर हेर्ने प्रवृत्ति संसद्‌भित्र छ। १८ वर्षअघि बनाएको कानून समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्त्वपूर्ण छ। यसमा हाम्रो ध्यान गइरहेको छैन।’

संसद् सेवालाई थप प्रभावकारी बनाउन कानूनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे।

संसद् प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र सांसद्हरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search