झापा, हल्दिबारी – हल्दिबारी माध्यमिक विद्यालयले आफ्नो ५२औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्रांगणमा आयोजित विशेष कार्यक्रममा शिक्षक सम्मान तथा बिदाई, छात्रवृत्ति तथा पुरस्कार वितरण र विविध सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टीका देवी राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपप्रधानमन्त्री तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद लिङदेन रहेका थिए।
कोशी प्रदेशका माननीय छविलाल चुडाल, संविधान सभा सदस्य मोहन टुडु, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन,गाउँपालिकाका प्रशासकीय अधिकृत मानबहादुर वन, कवी नवराज पराजुली ,शिक्षा शाखाका प्रमुख जनक कुमारी राई लगायत अन्य विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो। विद्यालयका शिक्षक कर्मचारीहरूले राष्ट्रिय गीतमा आकर्षक नृत्य गरेर स्वागत गरिएको कार्यक्रममा विद्यालयका लामो समयसम्म योगदान दिएका शिक्षकहरूलाई सम्मानित गर्दै सेवानिवृत्त शिक्षकहरूको बिदाई गरिएको थियो भने उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न अक्षयकोष मार्फत छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा हल्दिबारी कै पूर्व विधार्थी कवी नवराज पराजुलीले कविता सुनाएका थिए।
सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले हल्दिबारी गाउँपालिकाले कक्षा १२ सम्म प्राविधिकधार सहित निशुल्क शिक्षा लागु गरेकाले विधार्थीहरुलाई यसको सदुपयोग गर्न आग्रह गरेका थिए।
यसैगरी विद्यालयको ऐतिहासिक योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूलाई जीवनमा सफलताका लागि निरन्तर मेहनत गर्न प्रेरित गरेका थिए। उनले विद्यालयको विकासका लागि आफू सदैव तयार रहने प्रतिबद्धता समेत जनाए।
हल्दिबारी माध्यमिक विद्यालय शैक्षिक र सांस्कृतिक योगदानका लागि झापाको उत्कृष्ट विद्यालयमध्ये एक मानिन्छ।
कार्यक्रमको सञ्चालन शिक्षक तुलसी कोइरालाले गरेका थिए।