काठमाडौँ —वन तथा वातावरण मन्त्रालयले वनलाई दिगो र व्यवस्थित गर्न ‘दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड, २०८१’ जारी गरेको छ ।
दिगो विकासको अवधारणामा रही सुशासन, वनको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त मापदण्ड जारी गरिएको मन्त्रालयका सचिव दीपककुमार खरेलले बताए ।
‘कुनै पनि जिम्मा लिएको जिल्ला वन कार्यालय, डिभिजन र सबडिभिजन कार्यालय, सामुदायिक वन तथा उपभोक्ता समूह वन व्यवस्थापक हुन्,’ उनले भने, ‘यिनीहरूद्वारा व्यस्थापन भएका वनहरू दिगो छ/छैन भनी त्यसका सूचक र मानकसहितको मापदण्ड ल्याइएको हो ।’
दिगो वनको प्रमाणपत्रका लागि वन व्यवस्थाकहरूले वन तथा भू–संरक्षण विभागमा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्तपछि विभागले त्यसको वनको सर्वेक्षण गर्नेछन् । सर्वेक्षणको आधारमा मापदण्डले तोकेको सूचक पूरा गरेको पाइएमा वन व्यवस्थापकले दिगो वनको प्रमाण पत्र प्राप्त गर्नेछन् । तर सर्वेक्षणमा मापदण्ड पूरा नगरेको हकमा भने पूरा गरिसकेपछि मात्र प्रदान गरिने व्यवस्था छ ।