हल्दीबारी, झापा
। हल्दीबारी गाउँपालिका वडा नं ४ मा आज एक दिवसीय विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हल्दीबारी वडा नं ४ र सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन गुल्म भद्रपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा एल.पी. ग्यास विस्फोटनबाट हुन सक्ने दुर्घटना र त्यसको जोखिम न्यूनीकरणका उपायबारे विस्तृत तालिम प्रदान गरिएको थियो । विपद् अवस्था आउँदा स्थानीयवासीले कसरी प्राथमिक सुरक्षा अपनाउने भन्नेबारे समेत व्यावहारिक जानकारी दिइएको थियो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले ग्यास चुहावट, सिलिण्डरको सुरक्षित प्रयोग, आगलागी नियन्त्रण विधि लगायतका विषयमा प्राविधिक प्रशिक्षण दिएको थियो । कार्यक्रममा सहभागीहरुले यस्ता तालिमले स्थानीय स्तरमै जोखिमको पूर्वतयारी गर्न मद्दत पुग्ने बताएका थिए ।

कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष, स्थानीय शिक्षक, समाजसेवी, महिला समुहका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले समापनको क्रममा बोल्दै यस्ता जनचेतनामूलक तालिमलाई नियमित रुपमा अन्य वडा हरुमा पनि जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

हल्दीबारी गाउँपालिका वडा नं ४ को प्राङ्गणमा वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षता मा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, घेराबारी शसस्त्र प्रहरी प्रमुख विश्वराज योञ्जन , कोशी प्रदेश विपद व्यवस्थापन प्रमुख विन्देस्वर यादव, हल्दीबारी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने लगायत उक्त वडाका सम्पूर्ण जनप्रतिनिधि , विधार्थी बर्ग र समुदायमा बसोबास गर्ने स्थानियहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा उपस्थित सबै विधार्थी हरु र महिला हरुले पालै पालो एल पी ग्यास बिस्पोट हुन बाट कसरी बच्ने भन्ने तालिम लिएका थिए ।








