झापा।हल्दीबारी गाउँपालिका वडा नं ४ ले वडा लाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम चरणमा पुगेकाले आज जिल्ला समन्वय समिति झापाले स्थलगत अनुगमन गरेको छ ।


हल्दीबारी वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल रहेका थिए भने गाउँपलिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, निमित्त प्रमख प्रशासकीय अधिकृत राजन न्यौपाने , वडाका जनप्रतिनिधिहरू,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुमार भट्टराई,स्वास्थ्य कार्यालय झापाका राजकुमार पोखरेल, महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा , जलथल स्वास्थ्य चौकी प्रमुख माधवप्रसाद यादव, महेन्द्र मा वि का प्र अ पूर्णचन्द्र अधिकारी , बालकल्वका प्रतिनिधिहरू संचारकर्मी देवीका अधिकारी लगायत विधार्थीहरू र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कार्यक्रममा बालमैत्री वडा घोषणाका लागि आवश्यक सुचकहरू मध्ये अधिकांश वडाले पुरा गरेको जानकारी गराइएको थियो।जिसस को टोलीले वडाको स्वास्थ्य कार्यालय र महेन्द्र माध्यमिक विधालयको स्थलगत अनुगमन समेत गरेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले वडाको बालमैत्री अभियान उत्कृष्ट रहेको र बालबालिकामा गरेको लगानी भविष्य सम्म काम लाग्ने धारणा राखे।
यसैगरी वडा अध्यक्ष थापाले विकास भनेको बाटोघाटो मात्रै नभएको भन्दै वडालाई पालिकाकै पहिलो बालमैत्री वडा बनाउन लागिएको बताए। भविष्यका कर्णाधार बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गरिएको र यो अभियानमा सघाउने सबैलाई धन्यवाद दिएका थिए।यसैगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले वडाको पहलमा निरन्तर गरिएका प्रयासबाट बालमैत्री वडा घोषणा उन्मुख भएको भन्दै खुसी व्यक्त गरेका थिए।
अनुगमन मुल्यांकनले सुचकहरू पुरा गरेको प्रमाणित भएमा बालदिवसको अवसरमा भदौ २९ गते वडा बालमैत्री घोषणा हुने वडाअध्यक्ष सन्तकुमार थापाले बताए। कार्यक्रमको सहजीकरण निवर्तमान वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।