“टालटुले सुधारले देश जोगिँदैन, व्यवस्था नै बदल्नुपर्छ” — लिङ्देन

​झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब टालटुले सुधारले मात्र नहुने भन्दै व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्।

Advertisement

शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै लिङ्देनले देशले हारेमा कसैको पनि भविष्य सुरक्षित नरहने भन्दै आम नागरिक र युवाहरूलाई जागृत हुन अपील गरे।

नयाँ समझदारीको प्रस्ताव र ठूला दलमाथि प्रहार

अध्यक्ष लिङ्देनले चुनाव मात्रै समाधान नभएको जिकिर गर्दै आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सबै सरोकारवाला पक्षहरूबीच नयाँ राष्ट्रिय समझदारी हुनुपर्ने प्रस्ताव अघि सारे।

‘संसार बन्ने तर हाम्रो देश मात्र नबन्ने कुनै कारण छैन,’ लिङ्देनले भने, ‘तर अबको सम्झौता यस्तो हुनुपर्छ जहाँ कसैको हार नहोस् र देशले जितोस्। यदि देशले हार्यो भने सबै सकिन्छ।’

​उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै ती दलका नेताहरूले आफ्नै घरभित्रको विद्रोहसमेत ठम्याउन नसकेको टिप्पणी गरे। भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु मानेको उल्लेख गर्दै उनले संवैधानिक निकायमा दलीय भागबण्डाको अन्त्य नभएसम्म भ्रष्टाचारीमाथि कारबाही सम्भव नरहेको दाबी गरे।

​प्रदेश खारेजीको माग र ज्ञानेन्द्र शाहीको चेतावनी

सभालाई सम्बोधन गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान संघीय संरचना मुलुकका लागि ‘सेतो हात्ती’ सावित भएको टिप्पणी गरे।

उनले प्रदेश संरचनाको आर्थिक भार देशले बोक्न नसक्ने भन्दै तत्काल प्रदेश खारेजीको माग गरे।

शाहीले भने, ‘देश बिग्रे नेताको केही बिग्रिँदैन, तर यहाँका युवाहरूको भविष्य भने अन्धकार बन्दैछ। त्यसैले अब युवाहरू नै व्यवस्था बदल्न सडकमा आउनुपर्छ।’

उल्लेख्य कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको उक्त सभाले झापामा राप्रपाको शक्ति प्रदर्शन मात्र गरेन, बरु विद्यमान राजनीतिक व्यवस्थाप्रति तीव्र असन्तुष्टिसमेत प्रकट गरेको छ।

कार्यक्रममा वक्ताहरूले भ्रष्टाचारको मूल जड र राजनीतिक नियुक्तिले संस्था धराशायी भएको भन्दै कडा आलोचना गरेका थिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search