हल्दीबारी जेसिजको प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोह सम्पन्न

झापाको हल्दीबारीमा जेसिज हल्दीबारीको प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोह विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ।

हल्दीबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष योगेश कार्कीको संयोजकत्वमा माघ १ गते माघे सङ्क्रान्तिको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय राजेन्द्रप्रसाद लिङ्देन रहनुभएको थियो। प्रमुख अतिथि लिङ्देनले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य छवि चुडाल, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडाका जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी, जेसिज अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा संस्थापक अध्यक्षका सल्लाहकार हेमा पौडेल, चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, निरुपित राष्ट्रिय उपाध्यक्ष अनिष भट्टराई, विशिष्ट अतिथि छवि चुडाल तथा प्रमुख अतिथि राजेन्द्रप्रसाद लिङ्देनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यसै अवसरमा संस्थापक अध्यक्ष युनिता दवाडीले नवगठित जेसिज हल्दीबारीका अध्यक्ष नितेश खरेललाई चेन हस्तान्तरण गर्दै औपचारिक रूपमा पद हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा उपस्थित अतिथि तथा जेसिज अभियानकर्मीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमकै क्रममा सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमलीलाई “स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२” बाट सम्मान गरिएको छ। उक्त पुरस्कार भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गर्नुभएको हो। प्रमुख अतिथि माननीय राजेन्द्रप्रसाद लिङ्देन र पुरस्कारदाता उपप्रमुख राधा कार्की , हल्दीबारी जेसिस की अध्यक्ष युनिता दवाडीले बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

जेसिज हल्दीबारीकी अध्यक्ष युनिता दवाडीको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रमको स्वागत मन्तव्य योगेश कार्कीले राख्नुभएको थियो भने सञ्चालन तथा सहजीकरण महासचिव प्रायुस पौडेलले गर्नुभएको थियो। दोस्रो चरणको कार्यक्रम नितेश खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो, जसको सञ्चालन तथा सहजीकरण अनिल चौहानले गर्नुभएको थियो।

कार्यक्रमले हल्दीबारी क्षेत्रमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र युवा सशक्तीकरण अभियानलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search