दिपेन्द्र आ वि का छात्र खगेन्द्र मिश्रले पाए बुढानिलकण्ठ स्कुलमा पूर्ण छात्रवृति

झापा। श्री दिपेन्द्र आधारभूत विद्यालय का विद्यार्थी खगेन्द्र मिश्र नेपालकै प्रतिष्ठित विद्यालयमध्ये एक बुढानिलाकण्ठ विद्यालय मा पूर्ण छात्रवृत्तिसहित खुला कोटाबाट छनोट हुन सफल भएका छन्। यस सफलतासँगै विद्यालय परिवार तथा स्थानीयवासीमा खुशीको वातावरण छाएको छ। विद्यालयले खगेन्द्र मिश्रलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ।

विद्यालयका अनुसार यसअघि पनि श्री दिपेन्द्र आधारभूत विद्यालय बाट अध्ययन गरेका विद्यार्थीहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट सफलता हासिल गर्दै आएका छन्। वि.सं. २०७१ सालमा हल्दीबारी वडा नं. ४ डाँडागाउँ निवासी अनुप महतो, वि.सं. २०८१ सालमा हल्दीबारी वडा नं. ५ लक्ष्मीनारायण टोल निवासी शिक्षा बास्कोटा तथा वि.सं. २०८२ सालमा ऐनाबारी टोल निवासी समृद्धि मेचे पनि पूर्ण छात्रवृत्तिमा छनोट भई हाल बुढानिलाकण्ठ विद्यालय मा अध्ययनरत रहेका छन्।

लगातारका यस्ता उपलब्धिहरूले श्री दिपेन्द्र आधारभूत विद्यालय को शैक्षिक गुणस्तर, मेहनती शिक्षक टोली तथा विद्यार्थीहरूको लगनशीलतालाई थप प्रमाणित गरेको स्थानीयवासीको भनाइ छ। ग्रामीण क्षेत्रमै रहेर पनि विद्यालयले राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै अभिभावक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले विद्यालयको प्रशंसा गरेका छन्।

विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता विकास, गुणस्तरीय शिक्षा तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा थप ध्यान दिने जनाएको छ। लगातार प्राप्त यस्ता सफलताले अन्य विद्यार्थीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास विद्यालय परिवारले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search