झापा।सामुदायिक वन उपभोक्ता महासंघ झापाको २२औँ परिषद् भेला सम्पन्न भएको छ। जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रोहिणी गौतम प्रमुख अतिथि तथा पूर्व केन्द्रीय सदस्य संगीता थापा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
परिषद् भेलामा झापा जिल्लाभित्रका ५९ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू तथा विभिन्न स्थानीय महासंघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक वन संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको भूमिका सम्बन्धी विषयमा छलफल गरिएको थियो।
भेलाका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न वन समूह तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहतर्फ कचनकवलको पूर्व देउराली सामुदायिक वन उपभोक्ता समूह र बुद्धशान्तिको आदर्श नमुना सामुदायिक वन उपभोक्ता समूह सम्मानित भएका छन्।
त्यसैगरी उत्कृष्ट अध्यक्षका रूपमा जागिरमान राई नमुना सामुदायिक वन , उत्कृष्ट स्थानीय महासंघका रूपमा मेचीनगर स्थानीय महासंघ तथा उत्कृष्ट जिल्ला सदस्यका रूपमा कोशी राई सम्मानित हुनुभएको थियो।
कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारी तथा कोषाध्यक्ष देवीका अधिकारीले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष चन्द्र तामाङ ले राख्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष देवीका अधिकारी ले गर्नुभएको थियो।
भेलाले सामुदायिक वनको दिगो व्यवस्थापन, वन संरक्षण तथा उपभोक्ताको सहभागितालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरेको थियो।