झापा मिलिजुली अपाङ्गता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हल्दीबारी झापाको पहिलो वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। सहकारीका अध्यक्ष भिम कुमार लावतीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सहकारी सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा हल्दीबारी गाउँपालिका वडा अध्यक्ष शुकलाल राजवंशी उपस्थित थिए। कार्यक्रममा अतिथिका रूपमा हल्दीबारी गाउँपालिकाकी सहकारी प्रमुख कविता कर्ण, महिला, बालबालिका तथा ज्येष्ठ शाखा प्रमुख तृष्णा थापा मगर, एकता बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष हरि कृष्ण अधिकारी तथा झापा गाउँपालिकाका सिविआर एफओ प्रकाश गणेशको सहभागिता रहेको थियो।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी हल्दीबारीका सिविआरएफ शिबु मुर्मु र बलराम बनले सम्हालेका थिए। कार्यक्रममा हल्दीबारी गाउँपालिकाका पाँचवटै वडाबाट मिलिजुली समूहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहकारीकी उपाध्यक्ष निर्मला अधिकारी खनालले स्वागत मन्तव्य राखेकी थिइन् भने अध्यक्ष भिम कुमार लावतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन सहकारीका सचिव सलिना भट्टराईले गरेका थिए।
उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्रमार्फत तदर्थ समितिबाट नयाँ ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ।
दिल कुमार राजवंशी अध्यक्ष निर्वाचित भएको सञ्चालक समितिको उपाध्यक्ष निर्मला अधिकारी खनाल, सचिव हरिमाया मिश्र र कोषाध्यक्षमा राम प्रसाद टुडु रहेका छन् भने सदस्यहरूमा ख्याम कुमार थामी,सुमित्रा गिरी, कविता निरौला, लेख बहादुर योङ्हाङ्ग र सुरेश भण्डारी रहेका छन्।
कार्यक्रममा सहकारीको आगामी कार्यदिशा, संस्थागत विकास तथा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा सहकारीको भूमिकाबारे समेत छलफल गरिएको आयोजकले जनाएको छ।