झापा। हल्दीबारी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको फ्रिज मर्मत तथा मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ।
एक महिनासम्म सञ्चालन गरिएको दुवै तालिममा ८/८ जना गरी १६ जनाको सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन महेन्द्र लगायतले तालिमबाट प्राप्त सीपलाई स्वरोजगार तथा उद्यमसँग जोड्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
उहाँहरूले सीपमूलक तालिमले बेरोजगारी न्यूनीकरण, आयआर्जन वृद्धि तथा आत्मनिर्भरता विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा योजना शाखा प्रमुख राजन न्यौपाने र लघु उद्यम कार्यक्रम संयोजक सुष्मा राजवंशी ले कार्यक्रमको उद्देश्य, उपलब्धि तथा आगामी योजनाबारे सहजीकरण गर्नुभएको थियो।
स्थानीय स्तरमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमप्रति सहभागीहरूले समेत सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने बताएका थिए।