विश्वकै पहिलो कृषि गेम रियालिटी शो Revolutionary Agriculture War (RAW) को पहिलो सिजन सम्पन्न भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित भव्य ग्राण्ड फिनालेमा कृषि प्राविधिक सुमन बिमली ‘RAW Climate Award’ का विजेता बनेका छन् । बिमली वृक्षारोपणमा आधारित भोटिङ प्रणालीबाट प्राप्त अंकका आधारमा ‘RAW Climate Award’ का विजेता बनेका हुन् । विजेता बनेका बिमलीलाई भद्रपुर विमानस्थलमा स्वागत तथा सम्मान गरिएको छ । त्यस्तै प्रतियोगितामा किसानतर्फ लक्ष्मण के.सी. र कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता बनेका छन् ।
महानायक राजेश हमाल महाहोस्ट रहेको RAW करिब सात वर्षको अध्ययन, अनुसन्धान तथा तयारीपछि सञ्चालनमा आएको विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो हो। कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १,६०० किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो। विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेसम्म पुगेका थिए।
शैलेश कँडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको RAW ले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियानसमेत सञ्चालन गरेको जनाएको छ। विद्यालय जागरण अभियानमार्फत विद्यार्थीहरूलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रमका क्रममा जानकारी दिइयो।
त्यसैगरी, प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो। RAW ले इतिहासमै पहिलो पटक वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ। यस अभियानअन्तर्गत करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दाबी छ।